काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बोल)सँग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले रास्वपाका नेताद्वयसँग सोमबार टेलिफोन वार्ता गरी निर्वाचनमा पाएको सफलताप्रति बधाई दिएका हुन् ।
यसबारे जानकारी दिँदै मोदीले रवि र बालेनलाई आगामी सरकार लागि शुभकामना समेत व्यक्त गरेको बताएका छन् । उनले आगामी सरकारसँग देशहरूको पारस्परिक समृद्धि, प्रगति र कल्याणको लागि उनीहरूसँग काम गर्ने भारतको प्रतिवद्धता जनाएको उल्लेख गरेका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो। उहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ।’ उनले एक्समा भनेका छन्, ‘उहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।’
मोदीले थपेका छन्, ‘हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’
गत २१ गते भएको निर्वाचनमा रास्वपाले करिब दुई तिहाईको जित हात पारेपछि नयाँ सरकार गठनको तयारीमा देश रहेको छ ।


























































