काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले निर्वाचनको परिणामका विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले प्रतिनिधिसभा निर्वाचनको परिणाम अनपेक्षित आएको भन्दै पार्टी भित्र गम्भीर समीक्षा हुने बताएका हुन् । निर्वाचनको परिणामलाई लिएर अहिले नै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनु उचित नभएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले जनताले लिएको मतलाई पार्टीले स्वीकार गर्ने र निर्वाचनका बिषयमा पार्टीभित्र गम्भीर छलफल हुने बताइन् । उनले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी सभापति गगन थापाको केन्द्रीय समितिले लिने तर सभापतिको राजीनामा अहिलेको बिकल्प नभएको उल्लेख गरिन् । संग्रौलाले अब बन्ने सरकारलाई पार्टीका तर्फबाट रचनात्मक सहयोग हुने धारणा राखिन् ।
त्यस्तै नेकपा एमालेका नेता शेर बहादुर तामाङले निर्वाचनको परिणामलाई लिएर नेतृत्वलाई मात्रै दोष दिएर कोही उम्कने ठाँउ नरहेको बताए । निर्वाचनका विषयमा पार्टीभित्र गम्भीर छलफल हुने र आगामी दिनमा बलियो शक्तिको रुपमा अघि बढाउन कमीकमजोरी सुधार गर्दै अघि बढ्ने उनले बताए ।
तामाङले जनेजी आन्दोलनमा भएका घटनाको जाँचबुझ आयोगको प्रतिवेदनप्रति छेडखानी गरिएको आशंका व्यक्त गर्दै प्रतिशोध साध्ने काम भएको भए स्वीकार्य नहुने बताए । उनले भ्रष्टाचारको सवै प्रकरणको छानविन गर्नुपर्ने भन्दै एमालेका नेताहरु भ्रष्टाचार ठहरिए त्यस्ता नेताहरुलाई पार्टीले बोकेर नहिड्ने स्पष्ट पारे ।


























































