काठमाडौँ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको जनाएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले अनावश्यक सञ्चय भन्दा पनि माग अनुसार आपूर्ति हुन नसक्दा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका हुन् ।
उनले दैनिक १३० बुलेट ग्यास आउदा प्रयाप्त हुने भएपनि हाल दैनिक ९० बुलेटमात्रै ग्यास आउने गरेको जानकारी बिभागमा प्राप्त भएको उल्लेख गरे । निर्देशक तिवारीले ग्यासका अभाव भएपछि गरिएको बजार अनुगमनका क्रममा समेत व्यापारिले ग्यास लुकाएको नभेटिएको उल्लेख गरे ।
उनाले ग्यासको अभाव बढ्ने मनोवैज्ञानिक त्रासले उपभोक्ताले केहि सञ्चय गरेको देखिएको धारणा राखे । निर्देशक तिवारीले ग्यासका साथै इन्डक्सन चुलो बिक्रि वितरणका विषयमा समेत बिभागले आवश्यक अनुगमन गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाल आयल नियमको अकर्मण्यता र केहि व्यापारिहरुले लुकाई कृत्रिम अभाव गरि कालाबजारी गरेका कारण खाना पकाउने ग्यासको अभाव देखिएको बताउनुभयो ।



























































