काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले सिर्सिया खोला आसपासका उद्योगबाट फोहोर तथा प्रदूषित पदार्थ खोलामा मिसाउने कार्य एक साताभित्र रोक्न उद्योगीलाई अल्टिमेटम दिएकी छन्।
सोमबार मन्त्रालयमा उद्योग सञ्चालकहरूसँग छलफल गर्दै मन्त्री यादवले उद्योगबाट निस्कने फोहोर उद्योग परिसरभित्रै व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्। तोकिएको अवधिभित्र आवश्यक व्यवस्थापन नगरे अनुगमन टोलीले कानुनबमोजिम कडा कदम चाल्ने चेतावनी पनि दिइन्।
वीरगन्ज, बाराको सिमरा, पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र बिन्दवासिनीलगायत क्षेत्रमा सिर्सिया खोलाको प्रदूषणका कारण स्थानीयवासी समस्यामा परेको मन्त्री यादवले बताइन्।
सिमरा–वीरगन्ज कोरिडोरमा सञ्चालित उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी दायरा उल्लंघन गर्दै खोलालाई चरम प्रदूषित बनाएको उनको भनाइ छ।
खोलामा प्रदूषित पानी सिधै मिसाउँदा किसानका गाईभैँसीलगायत पशुचौपाया, जीवजन्तु तथा आसपासका लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यमा गम्भीर असर परेको उनले बताइन्। सरकारी निकायले पटक–पटक सचेत गराउँदा पनि सुधार नदेखिएको र स्थानीयको निरन्तर गुनासो आएपछि मन्त्रालय गम्भीर बनेको उनको भनाइ छ।
मन्त्री यादवले सिर्सिया खोलालाई पुनर्जीवन दिन उद्योगीहरूलाई तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेकी छन्।
































































