गण्डकी – पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गरेका छन् । पोखरा महानगरपालिकामा आज भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको जनाइएको छ ।


ADVERTISEMENT


भेटवार्ताका क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा पोखरामा सञ्चालित परियोजनाको प्रगतिबारे जानकारी गराउँदै कतिपय नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताए ।


ADVERTISEMENT

# # #


जर्मन सरकारको स्वामित्वमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणलाई बढवा दिँदै अन्तरराष्ट्रिय विकास समन्वयमा क्रियाशील ‘जिआइजेड’को सहयोगमा पोखरामा तयार गरिएको पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख आचार्यले बताए ।

उक्त योजना अनुसार गरिबी निवारण र वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिन थप सहकार्यका लागि आफूहरू तत्पर रहेको उनले उल्लेख गरे । साथै नगर प्रमुख आचार्यले पोखरामा पर्यटन पूर्वाधारको निर्माण, सांस्कृतिक आदानप्रदान र जर्मनका नगरहरूसँग भगिनीसम्बन्ध कायम गर्न इच्छुक रहेको उल्लेख गर्दै यसका लागि आवश्यक पहल तथा प्रयत्न गर्न राजदूत युडोलाई अनुरोध गरे । उनले सम्भव भए पोखरा–जर्मनी अन्तरराष्ट्रिय उडानकोसमेत पहलका लागि आग्रह गरे ।

जवाफमा राजदूत युडोले आफू पहिलो पटक पोखरा आएकाले यो सहर आफूलाई निकै सुन्दर लागेको उल्लेख गरे । भूगोलका हिसाबले पहाडकोबीच हिमालको काखमा अवस्थित पोखराको थप विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा मिलेर काम गर्न सकिने उनले बताए ।

नेपाल र जर्मनीको कूटनैतिक सम्बन्ध लामो समयदेखि पारस्परिक हित र सहकार्यमा आधारित रहेको बताउँदै उनले पोखरामा ऊर्जादक्षता अभिवृद्धि, वातावरणीय सुधार, पर्यटन प्रवद्र्धन तथा दिगो विकासका लक्ष्य हासिल गर्ने गरी थप सहकार्यको पहल गर्ने बताए ।

भेटवार्तामा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना, महानगरको वैदेशिकसम्बन्ध विभाग प्रमुख सुवास ढुङ्गानालगायतको सहभागिता रहेको थियो । रासस