काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले ८६ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाले अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि बजारमा रहेको अतिरिक्त तरलता खिच्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसबाट बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।































































