काठमाडौँ – नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले सभापति गगन कुमार थापाको राजीनामाप्रति असहमति जनाएका छन् ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरुले पार्टी सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठकमा बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो । कुनै व्यक्तिका कारण नभइ परिस्थीतिका कारण पार्टीले पराजय भोग्नुपरेकाले सभापतिले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अधिकांशको धारणा रहेको प्रवक्ता चालिसेले उल्लेख गरे । त्यस्तै बैठकमा राजीनामा अस्वीकृतको प्रस्ताव समेत प्रस्तुत भएको प्रवक्ता चालिसेले बताए ।
साथै बैठकमा उपसभापति शर्माले निर्वाचनमा हारको कारणसहितको समीक्षा प्रतिवेदन पनि पेश गरेको उनले जानकारी दिए । उभापति शर्माको समीक्षा प्रतिवेदनमा पराजयका पछाडी राजनैतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, सांगठनिक, प्राविधिक र अन्य विविध कारण रहेको उल्लेख गरिएको छ ।
देशव्यापी समिक्षा प्रतिवेदनहरु प्राप्त भए पश्चात् वृहत् समिक्षामा पुग्ने उहाले उल्लेख गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने र एजेण्डामाथि थप छलफल हुने कांग्रेसले जनाएको छ ।


























































