काठमाडौँ – नेपाली काँगेसमा सभापति गगनकुमार थापाले आफ्नो राजीनामा अस्वीकृत गर्ने केन्द्रीय समितिको निर्णय आफ्नो अपेक्षा विपरित आएको बताएका छन् । मंगलबार पार्टीको कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री थापाले अपेक्षकृत नभए पनि आफू उक्त निर्णयको सम्मान गर्न बताएका हुन् ।
उनले निर्वाचनपछि आफ्नो कर्तव्य ठानेर राजीनामा दिएको तर केन्द्रीय समितिले आफ्नो कर्तव्य ठानेर राजीनामा अस्वीकृत गरेको विषयमा को ठीक भनेर थप दोहोरी खेल्न नहुने उनले बताए ।
‘मैँले आफ्नो कर्तव्य जे ठानेँ, गरेँ । नेपाली काँग्रेस केन्द्रीय समितिले जे कर्तव्य ठान्यो, उसले गर्यो । यसमा थप दोहोरी खेलिराख्नु आवश्यक हुँदैन ।’ उनले भने, ‘तपाईंहरुले गरेको निर्णय मेरो अपेक्षाविपरित थियो । तर मैँले यो निर्णयलाई सम्मान गर्नुपर्छ । अब यो ठीक बेठीक के हो भन्ने कुरा नेपाली काँग्रेसको महाधिवेशनले टुंैगो लगाउँछ ।’
दुई पक्षकै निर्णयसँग आजबाट पार्टीमा नयाँ अध्याय प्रारम्भ भएको बताउँदै उनले थपे, ‘हामी महाधिवेशनको जिम्मेवारी लिएर आएका थियौँ । महाधिवेशनतर्फको अब पार्टीलाई अगाडि बढाउने हो ।’
यस्तै सभापति थापाले पार्टीको कार्यतालिकासहित भाद्र २४, २५ र २६ गते पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । सभापति थापाले प्रस्तुत गरेको कार्यतालिकामा वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने, असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने र असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने उल्लेख छ ।


























































