काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह चयन भएका छन् ।
पार्टी कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकबाट संसदीय दल गठन गर्ने प्रस्ताव समेत पारित भएको उनले बताए । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत गरेको झाले बताए । बैठकले उक्त प्रस्तावलाई समेत पारित गरेको उनले जानकारी दिए ।
संसदीय दलको नेता चयन भएसंगै शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । अब रास्वापाले बालेनलाई संसदीय दलको नेता चयन गरेको पत्र राष्ट्रपति कार्यालयमा पठाउनेछ । पत्र प्राप्त गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा चयन गर्नेछन् ।
बालेनको प्रधानमन्त्रीका रुपमा शपथको कार्यतलिका समेत सार्वजनिक भइसकेको छ । उनले शुक्रबार दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिनेछन् । उनको शपथका क्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । यस्तै १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गर्ने समेत कार्यक्रम तय भएको रास्वपाका एक नेताले बताए ।
प्रधानमन्त्रीको शपथ लिएपछि बालेन २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्न जाने कायक्रम रहेको छ ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई अर्थात १८२ सिटमा जित हासिल गरेपछि एकमना सरकार बनाउँदैछ । पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै निर्वाचनमा होमिएको थियो ।


























































