सुशीला रेग्मी, पाल्पा – पूर्वी पाल्पाका स्थानीयवासीलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ ।


ADVERTISEMENT


निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् ।


ADVERTISEMENT

# # #


रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवालगायतका क्षेत्रमा धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ । यस सडकमा बिहान ४ बजेदेखि नै ग्यालेन, बाल्टी, गाग्री बोकेर पानी खोज्नेको ठूलो जमात देखिन्छ । भूकम्पपछि गाउँमा रहेका सानासाना पानीका मुहान सुक्दै गएपछि खानेपानीको हाहाकार मच्चिएको स्थानीयवासी बताउँछन् ।

भूकम्पअघि गाउँकै धारामा खानेपानी उपभोग गर्दै आएका गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारी गाउँका करिब ५२ घरपरिवारलाई रातदिन खानेपानीको समस्याले सताएको छ । यस क्षेत्रका स्थानीयवासीले एकमात्र विकल्पको रुपमा रामपुर नगरपालिका–४ को गिजिनडाँडामा रहेको एउटा पानीको पँधेराबाट खानेपानी आपूर्ति गर्दै आइरहेका छन् । यहाँबाट बस्तीमा पानी बोकेर घर पुर्याउन निकै कठिन भएपछि हिजोआज केहीले गाडीमा पानी बोकेर लैजान थालेका छन् ।

खानेपानीको कहालीलाग्दो समस्या देखेपछि रामपुर आर्यभन्ज्याङ सडकखण्ड अन्तर्गत भएर चल्ने बस, ट्र्याक्टरले यस वर्षदेखि भने पानी ओसारेबापतको भाडा लिने गरेका छैनन् । पश्चिम नेपाल बस व्यवसायी सङ्घ बेलडाँडाका कर्मचारी देवबहादुर फालले गत साल हिउँदमा प्रतिग्यालेन रु पाँचको दरले पैसा लिने गरेकोमा यस वर्षदेखि शुल्क लिन छाडिएको बताए । गाडीले पानी बोकेको ज्याला लिन छाडेपछि यहाँका स्थानीयलाई ठूलो राहत मिलेको छ ।

साविक गल्धा–८ केवरापानीका ८७ वर्षीय रामेश्वर सोमै सकिनसकी बस्तीदेखि तीन किलोमिटर टाढाबाट पानी बोकेर जीवन चलाउन निकै समस्या भएको बताउँछन्। “गाउँनजिकै कतै पनि पानी छैन, बिहान उठेपछि पानी ओसार्दै ठिक्क छ” उनले भने ।

केवरापानी बस्ने राममायाँ सोमैले भूकम्पअघि पानी सानो भए पनि गाउँमै धारामा आउने गरेको तर भूकम्पपछि धारामा पानी आउनै छाडेको बताइन्। गाउँदेखि दैनिक एक घन्टाको बाटो पानी बोकेर गुजारा चलाउन गाह्रो भएको सोमै बताउँछिन्।

बीस घरधुरी रहेको गल्धा नाम्सुर्घामा पनि गाउँको पँधेरामा पानी आउन छाडेपछि सिलुवाको लोस्दीबाट पानी बोक्दै आएका छन् । टाढाबाट पानी ल्याउन समस्या भएपछि जेनतेनले दैनिक एक दुई गाग्रीको भरमा गुजारा चलाउन बाध्य भएको खेमानसिंह सारु बताउँछन्।

उनी भन्छन्, “पानीको थोपालाई तेलभन्दा बढी महत्वका रुपले लिन थालिएको छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने मजदुर गरिब वर्गका परिवारलाई पानी खोज्ने कि काम गरेर खर्च जुटाउने भन्ने समस्याले पिरोलेको छ ।”