काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको नेकपा सांसद रमेश मल्लले जानकारी दिए । बैठकपछि आइतबार नै पार्टी कार्यालयमा नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । अभिमुखीकरणमा दलका नेता प्रचण्डले संसदमा जनताका आवाजलाई प्रतिनिधित्व गर्न र खरो रूपमा आफ्नो भूमिका प्रस्तुत गर्न निर्देशन दिएको मल्लले बताए ।
त्यस्तैगरी देश र जनताको पक्षमा आफ्नो भूमिका निर्वाह गर्ने संकल्प पनि गरिएको उनले बताए । सांसद मल्लले सुशासनका लागि सरकारले अघि सारेका प्राथमिकताका १०० बुँदाहरु धेरैजसो सकारात्मक रहेकाले नेकपाको पूर्ण सहयोग हुने उल्लेख गरे । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा देशलाई अगाडि लैजान नेकपाले समेत प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
उनले सुशासनका लागि अघि सारिएका केही बुँदाहरुमा भने बहस गर्नुपर्ने देखिएको धारणा राखे ।


























































