काठमाडौं – आईजीपी दान बहादुर कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्घाटन गरेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई Electroconvulsive Therapy (ECT) मेसिन हस्तान्तरण गरे ।
साथै उनले अस्पतालको वर्ष भरिका विविध गतिविधि, उपलब्धी, सेवा प्रवाह र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८२’ को लोकार्पण समेत गरे । सो अवसरमा उनले विशेषज्ञ चिकित्सकहरू तथा नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरू लगायतलाई कदरपत्र प्रदान गरे ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पुर्याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गरेको भूमिका तथा योगदानको प्रशंसा गरे । प्रहरी कर्मचारीहरूमा सांगठनिक उद्देश्य प्राप्तिका लागि जोखिमको समाना गर्ने आँट र हिम्मत प्रहरी कर्मचारी तथा तिनका परिवारजनले संगठनबाट प्राप्त गर्ने सेवा र सुविधाको गुणस्तरसँग प्रत्यक्ष जोडिएको हुँदा यसतर्फ विशेष सजगता अपनाई चिकित्सक र सेवाग्राहीबीच भावनात्मक सम्बन्धको विकास गर्दै आत्मीय व्यवहारका साथ अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उनले बताए।
प्रहरी महानिरीक्षक कार्कीले नयाँ जनादेश प्राप्त सरकारबाट सुशासन, पारदर्शीता र प्रभावकारी सेवा प्रवाहलाई विशेष प्राथमिकता दिइएको सन्दर्भमा नेपाल प्रहरी अस्पतालले पनि आफ्नो सेवा प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र उत्तरदायी बनाई दायित्व वहन गर्ने विश्वास लिएको बताए ।
प्रहरीको दैनिक जीवनशैली र काम कारबाही आफैमा संवेदनशील एवम् शारीरिक तथा मानसिक रूपमा जोखिमपूर्ण रहेको र कार्यबोझ समेत धेरै हुने हुँदा स्वास्थ्य सम्बन्धी सबै गुनासोहरूलाई उचित सम्बोधन गरी अस्पतालले सम्पूर्ण दृष्टिकोणबाट सेवाग्राहीमैत्री, व्यावसायिक र उच्च गुणस्तरीय सेवा प्रवाह गर्न जरूरी रहेको उनले बताए ।
विगतमा देखिएका कमि कमजोरीहरूलाई सुधार गर्दै आगामी दिनमा अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्दै अस्पतालको स्तरोन्नती र दीर्घकालीन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती नविना कार्कीले टिभि र ईसिजि मेसिन अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीम कुमारी पाण्डेलाई हस्तान्तरण गरिने । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको थियो ।


























































