राहुल गुप्ता, बारा – संघीय संसदको अधिवेशन अन्त्य भएसँगै बारा क्षेत्र नं. ३ का सांसद अरविन्द साह आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय भएका छन्।
आज उनले आफ्नो क्षेत्रका विभिन्न गाउँ तथा बस्तीहरूमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका छन्। भेटघाटका क्रममा उनले जनताका गुनासा, समस्या तथा सुझावहरू ध्यानपूर्वक सुनेका थिए।
स्थानीयहरूले सडक, खानेपानी, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी विभिन्न समस्या प्रस्तुत गरेका थिए। सांसद साहले ती समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले निर्वाचन क्षेत्रको समग्र विकासका लागि आफू निरन्तर लागिपर्ने बताउँदै जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको उल्लेख गरे।
संसद अधिवेशन नभएको समयमा जनतासँग नजिकिएर काम गर्नु आफ्नो दायित्व भएको उनको भनाइ छ। यस किसिमको भेटघाटले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ।


























































