काठमाडौं–करिब एक किलो सुन र ११ लाख रुपैयाँ लुटेको आरोपमा सशस्त्र प्रहरीको सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा असई विशाल खड्का छन् । सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् उनलाई काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न भएको आरोपमा आइतबार पक्राउ गरेको हो ।


ADVERTISEMENT


खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । पूर्व योजना अनुरुप व्यवसायीलाई रेकी गरेर उनीहरुले लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


ADVERTISEMENT

# # #


‘७ जनाको समूहमा भएका मध्ये एक जनासँग ती व्यवसायी परिचित थिए’, घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘उनकै सूचनाको आधारमा व्यवसायी लुटिएका थिए ।’

व्यवसायीले त्यो सुन गाल्न र गहना बनाउने ल्याएको बताएका छन् । घटनामा संलग्न अभिनाश शाहलाई यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरिसकेको छ । शाह नै लुटपाटको मुख्य योजनाकार भएको प्रहरीको दाबी छ ।

सोही समूहका प्रविन गिरीलाई समेत काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । उनी नेपाल विद्यार्थी संघका नेता समेत हुन् ।

घटनामा संलग्न ४ जना अझै फरार छन् ।

पक्राउ परेकाहरुमाथि जबरजस्ती चोरी, डाँका र संगठित अपराध ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।

फरार अन्यको खोजी भइरहेको उनको भनाइ छ ।