काठमाडौं — निजामती सेवामा अनुशासन, पारदर्शिता र उत्तरदायित्व सुदृढ बनाउन सामान्य प्रशासन सचिव चन्द्रकला पौडेलले कर्मचारी आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै परिपत्र जारी गरेकी छन्।


ADVERTISEMENT


उक्त परिपत्र निजामती सेवा ऐन, २०४९ तथा निजामती कर्मचारी आचारसंहिता, २०६५ मा भएका व्यवस्था र दफाहरूलाई आधार बनाएर जारी गरिएको जनाइएको छ। सोही कानुनी प्रावधानअनुसार कर्मचारीहरूले आफ्नो कर्तव्य, जिम्मेवारी र आचरणलाई मर्यादित बनाउनु अनिवार्य हुने उल्लेख गरिएको छ।


ADVERTISEMENT

# # #


परिपत्रमार्फत सबै मन्त्रालय, विभाग तथा मातहतका निकायलाई कर्मचारीहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सुनिश्चित गर्न निर्देशन दिइएको छ। कार्यालय समयमा अनुशासनहीन गतिविधिमा संलग्न नहुन, सेवाग्राहीसँग शिष्ट, सभ्य र मर्यादित व्यवहार गर्न तथा कुनै पनि प्रकारका भ्रष्टाचारजन्य क्रियाकलापबाट टाढा रहन स्पष्ट रूपमा भनिएको छ।

कर्मचारीतन्त्रप्रति बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै यस्तो कडा कदम चालिएको बताइएको छ। परिपत्रमा नियमित उपस्थिती, तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने र सेवाग्राहीलाई छिटो, सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ।

त्यसैगरी, सामाजिक सञ्जाल प्रयोगका सन्दर्भमा पनि कर्मचारीहरूले जिम्मेवार, संयमित र मर्यादित व्यवहार अपनाउनुपर्ने उल्लेख गरिएको छ। संस्थाको छवि बिग्रने वा अनुशासन विपरीत हुने गतिविधिबाट टाढा रहन सचेत गराइएको छ।

परिपत्रमा आचारसंहिता उल्लंघन गर्ने कर्मचारीमाथि निजामती सेवा ऐन, २०४९ को दफा ५९ तथा सम्बन्धित कानुनी व्यवस्था अनुसार आवश्यक कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ।

सरकारको यो कदमलाई निजामती सेवामा सुशासन, अनुशासन र पारदर्शिता मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।