काठमाडौं – नेपाल लघुवित्त बैंकर्स संघको १९औँ वार्षिक साधारण सभाले राम बहादुर यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेका छन् ।
सोमबार काठमाडौंस्थित होटल एभरेष्टमा सम्पन्न सभाले नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा छिमेक लघुवित्तका दिपक निधि तिवारी, महासचिवमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संजय कुमार मण्डल र कोषाध्यक्षमा हिमालयन लघुवित्त वित्तीय संस्थाका विनोद आचार्य निर्विरोध चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा आरम्भ चौतारी लघुवित्तका शिवप्रसाद ज्ञवाली, आशा लघुवित्त वित्तीय संस्थाका बद्री प्रसाद दुलाल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सौगात वीर चौधरी, उपकार लघुवित्त वित्तीय संस्थाका शारदा खत्री, ग्लोबल आइएमबि लघुवित्त वित्तीय संस्थाका हरिकृष्ण जोशी, माहुली लघुवित्त वित्तीय संस्थाका सरोज कुमार सिंह र सामुदायिक लघुवित्त वित्तीय संस्थाका दिलिप कुमार पोखरेल निर्विरोध चयन भएका छन् ।
सभाको उद्घाटन गर्ने क्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले लघुवित्त संस्थाहरूको व्यवसाय क्रमशः सुधार हुँदै गएको बताए ।
उनले लघुवित्त क्षेत्रका मागहरू सम्बन्धमा संघसँग छलफल गरेर अघि बढिने उल्लेख गर्दै गरिबी न्यूनीकरण, महिला सशक्तिकरण र ग्रामीण अर्थतन्त्र विकासमा लघुवित्तको महत्त्वपूर्ण योगदान रहेको बताए ।



























































