काठमाडौं – जबरजस्ती करणी सम्बन्धी मुद्दामा जन्मकैदको सजाय भोगिरहेका अवस्थामा फरार भएका अभियुक्तलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०७९ कात्तिक २८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार विरुवास्थित बालुवा डिपोमा बस्दै आएका निशान तामाङले ७ वर्षीया बालिकालाई चकलेट दिने प्रलोभन देखाई बालयौन दुरुपयोग गरेका थिए ।


ADVERTISEMENT

# # #


उक्त घटनासम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतले २०७९ पुस १ गते तामाङलाई जन्मकैद अर्थात् २५ वर्ष कैद र ७ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला अनुसार उनी केन्द्रीय कारागार भद्रबन्दी गृह, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए ।

प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार रहेका तामाङलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वयमा खटिएको प्रहरी टोलीले २०८३ जेठ १ गते बिहान महोत्तरीको बर्दिवास नगरपालिका–५ बाट पक्राउ गरेको हो ।

२४ वर्षीय निशान तामाङ नवलपरासीको कावासोती नगरपालिका–३ का स्थायी बासिन्दा हुन् । पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।