काठमाडौं – प्रतिनिधिसभाको लगातार अवरोध र सरकार–विपक्षबीच बढ्दो तनावका बीच रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री संसदमा उपस्थित नभए पनि आफूलाई कुनै दबाब नरहेको बताएका छन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



संसद भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले संसदलाई प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।

लामिछानेले प्रधानमन्त्री संसदमा आउने वा नआउने विषयभन्दा पनि जनताका मुद्दामा सरकारको स्पष्ट धारणा आउनु आवश्यक रहेको उल्लेख गरे। उनले विपक्षी दलहरूले उठाइरहेका विषयलाई बेवास्ता गरेर संसद सञ्चालन सहज नहुने चेतावनीसमेत दिए।

“हामीले उठाएका प्रश्न व्यक्तिगत होइनन्, जनतासँग जोडिएका विषय हुन्,” उनले भने, “प्रधानमन्त्री संसदमा नआए पनि मलाई कुनै दबाब छैन, तर सरकार जवाफदेही हुनुपर्छ।”
उनले संसद अवरोधको जिम्मेवारी विपक्षीमाथि मात्रै थोपर्न नमिल्ने भन्दै संवाद र सहमतिबाट निकास खोज्नुपर्ने धारणा राखे।

पछिल्ला दिनमा सहकारी प्रकरण, सुशासन र सरकारको कार्यशैलीलाई लिएर विपक्षी दलहरू आक्रामक बनेका छन्। त्यसैबीच प्रधानमन्त्रीको संसद उपस्थितिलाई लिएर पनि राजनीतिक वृत्तमा बहस चर्किएको छ।
लामिछानेको अभिव्यक्तिलाई सरकारमाथि दबाब कायम राख्ने रणनीतिक सन्देशका रूपमा समेत हेरिएको छ। संसदभित्र जारी गतिरोध अन्त्यका लागि सत्ता र विपक्षबीच छलफल भइरहे पनि ठोस सहमति भने जुट्न सकेको छैन।