काठमाडौं- पश्चिम एसियामा बढ्दो द्वन्द्व र असुरक्षाका कारण त्यहाँ रहेका नेपाली नागरिकले सरकारको सम्पर्कमा आउन थालेका छन्। परराष्ट्र मन्त्रालयले खुलाएको अनलाइन विवरण फारममा हालसम्म ८७ हजारभन्दा बढी नेपालीले आफ्नो जानकारी दर्ता गराएका छन्।
इजरायल, इरान, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशमा रहेका नेपालीहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आफ्नो विवरण उपलब्ध गराएका हुन्। सरकारले संकटको अवस्था थप जटिल हुनसक्ने अनुमान गर्दै नेपालीहरूको तथ्यांक संकलनलाई तीव्र बनाएको जनाएको छ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार फारममार्फत संकलित विवरणले आवश्यक परे उद्धार, समन्वय तथा आपत्कालीन सहायता उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ। सरकारले पश्चिम एसियामा रहेका नेपालीलाई सतर्क रहन, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न र नजिकको नेपाली दूतावाससँग सम्पर्कमा रहन आग्रह गरेको छ।
यता, पश्चिम एसियामा रहेका आफन्तको सुरक्षालाई लिएर नेपालमा रहेका परिवारजन पनि चिन्तित बनेका छन्। द्वन्द्व थप चर्किन सक्ने अन्तर्राष्ट्रिय आकलनबीच सरकारले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।


























































