म्याग्दी – अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल हो ।
समुुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको छ। करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुुदायका मानिसहरु बसोबास गर्छन् ।
अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरु भएको लेकगाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युुजियम’ भनिएको बताउनुभएको छ।
संस्कृतिसँगै लेकगाउँ प्राकृतिक रुपमा सुुन्दर र रमणीय छ । लेकगाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी र बराह शिखर हिमाल छन् । अन्नपूूर्ण हिमालबाट हिउँपहिरो खसेको दृश्य नजिकबाट नियाल्न सकिन्छ । लेकगाउँको नजिकै समथर स्वाँराफाँट छ । स्वाँराफाँटमा स्थानीयवासीले खाद्यबाली खेती गर्छन् । हिउँदमा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्छन् ।
घोडेपानी, बयली, खोप्रा हुँदै नारच्याङ जोड्ने पदमार्ग रहेको छ । प्रचारप्रसारको अभावमा पर्यटकहरुको आगमन हुुन नसकेको वडा सदस्य पुर्जाले बताउनुभयो । पर्यटकको सुविधाका लागि लेकगाउँमा रेष्टुुरेष्ट र घरबास छन् । पर्यटकले चाहनाअनुुसार होटल र घरबासमा बस्न सक्छन् । घुम्तीगोठमा पालिएका गाईभँैसी र भेडाबाख्रा अवलोकन गर्न पाइन्छ । लेकगाउँमा मगर संस्कार र जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइने गुल्मीबाट आउनुभएका होमनाथ पाण्डेले बताउनुभयो ।
बेनी–जोमसोम सडकमा पर्ने भुुरुङ्ग तातोपानी हुुँदै लेकगाउँ जाने क्रममा नारच्याङ बेँसीमा रहेको नारच्याङ झरना अवलोकन गर्न सकिन्छ । भुरुङ्ग तातोपानीदेखि दुई घण्टा पैदलयात्रा र एक घण्टा गाडीको यात्रा गरेपछि लेकगाउँ पुुगिन्छ । लेकगाउँबाट नारच्याङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरुको अवलोकन गर्न सकिन्छ ।
अन्नपूूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर फगामीले लेकगाउँ हँुुदै खोप्रा र अन्नपूूर्ण आधार शिविर जाने बाटोमा पर्ने बासबोटलाई पदमार्गले जोडिएको बताउनुभयो । पूर्वाधार निर्माणसँगै लेकगाउँको संस्कृति र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने, विदेशिएका र बजार गएकाहरुलाई गाउँ फर्काउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।


























































