काठमाडौं- मंगलबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि बिपक्षी सांसदहरुले विरोध जनाएपछि रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका छन् । संसदलाई सहज रुपमा अघि बढाउने सन्दर्भमा एक साताभित्र प्रधानमन्त्री आउने निश्चित भएको उनको भनाई छ ।
बुर्लाकोटीले प्रधानमन्त्री आउने जानकारी गराएपछि नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको आरोप लगाएकी छिन् । उनले संसद सरकारको भजन गाउने थलो नभएको भन्दै सरकारलाई सदनप्रति उत्तरदायी बनाउने जिम्मेवारी पुरा गरेको बताएकी छिन्।
त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि प्रधानमन्त्री आउने जानकारी अनुसार सभामुखको कुर्सीबाट रुलिङको माग गरेका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री सदनमा आउने बिषयमा रास्वपाबाट जानकारी प्राप्त भएकाले सहज रुपमा सदन अघि बढाउन आग्रह गरे ।
सभामुखको आग्रहपछि बिपक्षी दलका सांसदहरुले सदनको अवरोध हटाएर बिधेयकमाथिको छलफलमा भाग लिएका छन् ।


























































