काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर  इद–उल–अज्हाको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री बानियाँले बुधबार शुभकामना सन्देश जारी गर्दै नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै विविधताबिचको एकता र आपसी सदभाव नै नेपालको राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् ।

मुख्यमन्त्री बानियाँले प्रत्येक जातजाति र धर्मावलम्बीका आफ्नै मौलिक परम्परा र सांस्कृतिक महत्त्व रहेको उल्लेख गर्दै त्याग, बलिदान र आपसी भ्रातृत्वको प्रतीकका रूपमा मनाइने बकर इदजस्ता पर्वहरूले समाजमा धार्मिक सहिष्णुता र सामाजिक एकता सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन्।
शुभकामना सन्देशमा उनले बागमती प्रदेश सरकार नागरिकको हकहित संरक्षण गर्दै प्रदेशको समग्र विकासमा निरन्तर सक्रिय रहेको उल्लेख गरेका छन्। वर्तमान प्रदेश सरकार जनमुखी, गरिबमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखी सिद्धान्तका आधारमा अघि बढिरहेको उनको भनाइ छ।

मुख्यमन्त्री बानियाँले न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माणका लागि विपन्न तथा पिछडिएका वर्गको आयआर्जन, सेवा प्रवाह र सामाजिक सुरक्षामा विशेष ध्यान दिइएको बताएका छन्। उनले लोककल्याणकारी राज्यको अवधारणालाई व्यवहारमा उतार्न प्रदेश सरकार प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेका छन्।

उनले यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले नागरिकबिच एकता, सदभाव, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्दै विकास र समृद्धिको यात्रामा सबैलाई एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। सन्देशको अन्त्यमा मुख्यमन्त्री बानियाँले बकर इद पर्वले सम्पूर्ण नेपालीबिच आपसी सदभाव, भ्रातृत्व र सहयोगको भावना अझ प्रगाढ बनाउँदै समृद्ध, न्यायपूर्ण र सुशासित समाज निर्माणमा योगदान पुग्ने कामना गरेका छन्।