काठमाडौं – प्रतिनिधिसभाको बैठक मंगलबार पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार पनि बैठक सुरु हुनेबितिकै बिपक्षी सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बोल्नका लागि समय दिनुभएको थियो ।
सो क्रममा कांग्रेसका सचेतक निश्कल राईले नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित प्रधानमन्त्री लागेको र प्रधानमन्त्रीका समर्थहरुले समेत नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागि परेको टिप्पणी गरेका छन् ।
उनले सदनको अभिभावकको हैसियतमा सभामुखले अभिव्यक्ति हटाउन निर्देशन दिने आफुहरुको अपेक्षा रहेपनि त्यसो हुन नसकेको भन्दै आपत्ति जनाएका छन्। राईले रोस्ट्रममा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जवाफ दिने र आत्मालोचनाका लागि रुलिङको माग गरेका छन्।
त्यस्तै एमालेका सांसद क्षितिज थेबेले आफूहरूले विरोधका निम्ति विरोध नगरेको भन्दै राष्ट्रियताको विषय नबोले इतिहासले माफ नगर्ने बताएका छन् । उनले सदनमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनको गतिरोध अन्त्य गर्न सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने उनको भनाई छ ।
बिपक्षी सांसदको विरोधका कारण सदनको कामकारवाही प्रभावित भएपछि सभामुख अर्यालले सहज रुपमा सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए तर विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख अर्यालले जेष्ठ २७ गते बुधबार ११ बजे बस्नेगरि बैठक स्थगित भएको घोषणा गरेका छन् । सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।


























































