काठमाडौं –  उन्नति र व्यावसायिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ।


ADVERTISEMENT


ललितपुरस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा जेठ २३ गते आयोजित साधारण सभामा संस्थाका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


‘संस्थाको उन्नति र व्यावसायिक सुशासनका लागि’ भन्ने मूल नारासहित आयोजित सभामा संस्थाको सांगठनिक सुदृढीकरण, व्यावसायिक मर्यादा अभिवृद्धि तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ। सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमितिसमेत निर्वाचित गरेको छ।

कार्यक्रममा सहभागीहरूले नेपालको तीव्र गतिमा विकसित भइरहेको अर्थतन्त्रमा सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए। म्यानेजमेन्ट एकाउन्टेन्ट्सले परम्परागत लेखा प्रणाली र रणनीतिक नेतृत्वबीचको दूरी कम गर्दै लागत नियन्त्रण, जोखिम व्यवस्थापन तथा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने उनीहरूको भनाइ थियो।

सभामा नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन दक्ष तथा योग्य जनशक्तिको आवश्यकता रहेको विषयमा पनि जोड दिइएको थियो। साथै, बजेट निर्माण, सार्वजनिक कम्पनीहरूको व्यवस्थापन, सार्वजनिक सरोकारका आयोजनाको लागत निर्धारण तथा लागत लेखापरीक्षणसम्बन्धी विषयमा लागत लेखापरीक्षण ऐनको महत्वबारे समेत प्रकाश पारिएको थियो।

संस्थाले व्यावसायिक क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।