काठमाडौं – कर्णाली प्रदेशको हुम्ला जिल्लास्थित चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ।


ADVERTISEMENT


भारत सरकारको करिब १४ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको हो।


ADVERTISEMENT

# # #


परियोजनाको कार्यान्वयन चंखेली गाउँपालिकामार्फत गरिनेछ। अस्पताल भवन निर्माण सम्पन्न भएपछि चंखेली गाउँपालिकाका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै अस्पताल भवनले क्षेत्रको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण योगदान पुराउने विश्वास व्यक्त गरे।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग मिलेर साझा विकास र समृद्धिका लागि भारत सरकार प्रतिबद्ध रहेको बताए।

भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन भइसकेका छन्। हुम्लामा यो तेस्रो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

यसअघि भारत सरकारले सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण तथा चंखेली–दार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि अनुदान सहयोग प्रदान गरेको थियो। साथै सन् २०२४ जुलाईमा हुम्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका निर्वाचित प्रतिनिधिहरूको १० सदस्यीय टोलीका लागि भारतमा अध्ययन भ्रमणको समेत आयोजना गरेको थियो।

नजिकको छिमेकी राष्ट्रका रूपमा नेपाल र भारतबीच बहुआयामिक सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत पूर्वाधार विकास तथा जनस्तरमा सेवा प्रवाह सुधार गर्न भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ, जसले नेपालको विकास र समृद्धिको यात्रालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।