काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन आवश्यक कानून बनाउन खोजेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी छलफलका क्रममा मन्त्री पुनले नेपालमा धेरै प्रयोगशाला भएपनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बहुउपयोगी र विश्वश्नीय बनाउन आवश्यक कानून बनाउन खोजेको बताएका हुन् ।
उनले विधेयकमाथि विज्ञहरुको राय सुझाव निकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
मन्त्री पुनले अहिले भइरहेको प्रयोगशालालाई समेत सुदृढ गर्ने सरकारको नीति भएको भन्दै अहिलेको विधेयकले भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षेत्रलाई मात्रै हेर्ने धारणा राखेका छन् ।
बैठकमा बिज्ञहरुले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला गुणस्तरीय र विश्वसनीय बनाउन सक्ने गरि कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै उनीहरुले राष्ट्रिय प्रयोगशाला भएकाले गोपनियताका साथै सुरक्षाका बिषयमा समेत आवश्यक व्यवस्थासहितको कानून बनाउनुपर्ने धारणा राखेका छन् ।



























































