काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रवीण रमण पराजुली नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै उनको कार्यकाल थप चार वर्षका लागि नवीकरण भएको छ।
पराजुली यसअघि २०७९ साउन ४ गते कम्पनीको सीईओमा नियुक्त भएका थिए। सीईओ बन्नुअघि उनले नेपाल लाइफमा डेपुटी सीईओको जिम्मेवारी सम्हालेका थिए। नेपाल लाइफमा आबद्ध हुनुअघि पराजुली साविक रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओका रूपमा कार्यरत थिए।
बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका पराजुलीको नेतृत्वमा नेपाल लाइफले आगामी चार वर्ष पनि आफ्नो व्यावसायिक विस्तार र सेवा प्रवाहलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।



























































