काठमाडौं – फिफा विश्वकप–२०२६ मा २८ वर्षपछि पुनरागमन गरेको अष्ट्रियाले विजयी सुरुवात गरेको छ। बुधबार अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको समूह ‘जे’ अन्तर्गतको खेलमा अष्ट्रियाले पहिलोपटक विश्वकप खेलिरहेको जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गर्यो।


ADVERTISEMENT


अष्ट्रियाको जितमा रोमानो स्चमिड र मार्को अर्नाटोभिकले एक–एक गोल गरे भने एक गोल जोर्डनका याजान अलारबको आत्मघाती गोलबाट सम्भव भयो। खेलको २०औँ मिनेटमा स्चमिडले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए।


ADVERTISEMENT

# # #


तर दोस्रो हाफको सुरुआतमै, ५०औँ मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई खेलमा फर्काए। त्यसपछि ७६औँ मिनेटमा याजान अलारबले आत्मघाती गोल गरेपछि अष्ट्रियाले पुनः अग्रता लियो।

इन्जुरी समयमा डिबक्सभित्र जोर्डनका खेलाडीको हातमा बल लागेपछि अष्ट्रियाले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई मार्को अर्नाटोभिकले गोलमा परिणत गर्दै टोलीको जित सुनिश्चित गरे।

यस जितसँगै अष्ट्रियाले ३ अंक जोडेको छ र समूह ‘जे’को दोस्रो स्थानमा रहेको छ। समान ३ अंक भए पनि गोलअन्तरका आधारमा अर्जेन्टिना शीर्ष स्थानमा छ। जोर्डन र अल्जेरिया भने अंकविहीन छन्।

आठौँपटक विश्वकपमा सहभागी अष्ट्रियाको उत्कृष्ट नतिजा सन् १९५४ मा तेस्रो स्थान हासिल गर्नु हो। अष्ट्रियाले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो। एसियाली राष्ट्र जोर्डन भने इतिहासमै पहिलोपटक विश्वकपको मञ्चमा उत्रिएको हो।