काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन्।
उनले फ्री भ्रिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरु थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिएका छन् । मन्त्री रामजी यादवले अहिले ३० लाख भन्दा बढि नेपाली नागरिक श्रमिकका रुपमा बिभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई बैज्ञानिक रुपमा नै व्यवस्थीत गर्नुपर्नेमा जोड दिए।
मन्त्री यादवले श्रम स्वीकृतिबिना हजारौ घरेलु कामदारहरु बिभिन्न देशमा कार्यरत रहेको बताएका छन् ।उनले उनीहरुलाई अप्ठेरो पर्दा औपचारिक रुपमा समाधान गर्न अप्ठेरो भएको देखिएकाले यसमा पनि मन्त्रालयले बिशेष ध्यान दिइरहेको जानकारी दिएका छन् ।
उनले कुवेतमा मात्र करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिबिना कार्यरत रहेको अवस्था रहेको उल्लेख गरेका छन् ।



























































