काठमाडौं- नेपालमा नयाँ विद्युतीय सवारी साधन ओरा ५ ईभी औपचारिक रूपमा सार्वजनिक गरिएको छ। जीडब्लुएम नेपालले काठमाडौंको द प्लाजामा आयोजित विशेष कार्यक्रममा अत्याधुनिक प्रविधियुक्त विद्युतीय एसयूभी ओरा ५ ईभी बजारमा ल्याएको हो।
चीन र थाइल्यान्डमा सफलतापूर्वक सार्वजनिक भइसकेपछि नेपाललाई ओरा ५ ईभीको प्रमुख अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा र आरामदायी सुविधाले सुसज्जित यो विद्युतीय गाडी नेपाली बजारमा प्रतिस्पर्धी विकल्प बन्ने अपेक्षा गरिएको छ।
जीडब्लुएमका लागि नेपालको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिका अनुसार नेपाली उपभोक्ताको आवश्यकता र स्थानीय सडक अवस्थालाई ध्यानमा राखेर ओरा ५ ईभी भित्र्याइएको हो। कम्पनीले यसले सुरक्षित, स्मार्ट र वातावरणमैत्री यात्राको अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। विशेष प्रारम्भिक अफरअन्तर्गत मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यो गाडीको प्रमुख विशेषता भनेको एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता हो। साथै २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट प्रविधिजस्ता सुविधाहरू पनि समावेश छन्।
सुरक्षाका दृष्टिले ओरा ५ ईभीले पाँच तारे एएनक्याप र पाँच तारे युरो एनक्याप सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ। गाडीमा लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल र ट्राफिक साइन रिकग्निसनसहित २५ भन्दा बढी एडभान्स ड्राइभर असिस्टेन्स प्रणाली जडान गरिएको छ।
दैनिक प्रयोगलाई सहज बनाउन ३३ वटा भण्डारण स्थानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थिति रहेको जीडब्लुएमले हालसम्म एक करोडभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ। ३५ वर्षभन्दा बढीको अनुभव, अनुसन्धान तथा विकासमा लगानी र गुणस्तरप्रतिको प्रतिबद्धताका कारण कम्पनी विश्व बजारमा स्थापित ब्रान्डका रूपमा परिचित छ।
गाडी सार्वजनिक कार्यक्रममा जीडब्लुएम ग्लोबल र जीडब्लुएम नेपालका प्रतिनिधिहरूले नेपाली ग्राहकलाई विश्वस्तरीय प्रविधि, सुरक्षा तथा प्रिमियम गतिशीलता समाधान उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएका थिए। उनीहरूले ओरा ५ ईभीले नेपालको विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।
आधुनिक डिजाइन, उन्नत सुरक्षा प्रणाली, लामो ड्राइभिङ रेन्ज र प्रतिस्पर्धी मूल्यका कारण ओरा ५ ईभी नेपाली विद्युतीय सवारी बजारको आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।



























































