चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय सदस्य पदकी उम्मेदवार ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम समावेश नगरिएको भन्दै आपत्ति जनाएकी छन्।
बिहीबार चितवनमा जारी रास्वपाको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संग्रौलाले सुरुदेखि नै आफू ‘ज्वाला’ नामबाट परिचित भए पनि मतपत्रमा ‘टिका संग्रौला’ उल्लेख गरिएकाले मतदाताहरू अन्योलमा परेको दाबी गरिन्।
उनका अनुसार मतपत्रमा ‘ज्वाला’ नाम नदेखेपछि धेरै प्रतिनिधिहरूले आफूलाई मतदान गर्न नसकेको बताएका छन्। उनले यो विषय नियतवश गरिएको हो वा प्राविधिक त्रुटि हो भन्नेबारे छानबिन हुनुपर्ने माग गर्दै निर्वाचन समितिमा निवेदन समेत दिएको जानकारी दिइन्।
संग्रौलाले अन्य उम्मेदवारहरूको परिचित नाम मतपत्रमा उल्लेख गरिएको तर आफ्नो हकमा फरक नाम राखिएको भन्दै यसमा षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरिन्।
उनले निर्वाचन प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाउँदै यस विषयमा निर्वाचन समितिले स्पष्ट जवाफ दिनुपर्ने बताइन्। यद्यपि, निर्वाचन समितिको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।



























































