काठमाडौं- नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने ६ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरिएको छ।
केडिया समूहअन्तर्गतको नेपाल भलिबल लिगले बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा यस वर्ष आयोजना हुने लिगमा प्रतिस्पर्धा गर्ने टोलीहरूको घोषणा गरेको हो।
लिगमा सगरमाथा शम्शेर, मधेश वारियर्स, काठमाडौं रेडर्स, अन्नपूर्ण स्पाइकर्स किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स ले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
यसका साथै लिगमा सहभागी हुन इच्छुक थप दुई टोलीका लागि आवेदन प्रक्रिया पनि खुला गरिएको नेपाल भलिबल लिगले जानकारी दिएको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आयोजना हुने प्रतियोगिताको मिति भने छिट्टै सार्वजनिक गरिने नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले बताए। उनले समग्र नेपाली भलिबलको विकास र विस्तारका लागि नयाँ उडानको अवधारणासहित लिग आयोजना गर्न लागिएको उल्लेख गर्दै यसले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चान्डले नेपाली भलिबलको विकासका लागि संघ निरन्तर सक्रिय रहेको बताउँदै यस्ता प्रतियोगितालाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा राखे।
उनले खेलकुदका नियम र कानुनको पूर्ण पालना गर्दै प्रतियोगिता सञ्चालन गरिए नेपाल भलिबल संघ आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको समेत स्पष्ट पारे।
आयोजकका अनुसार नेपाल भलिबल लिगले व्यावसायिक भलिबलको विकास, नयाँ खेलाडी उत्पादन तथा राष्ट्रिय स्तरमा भलिबलको लोकप्रियता थप विस्तार गर्ने लक्ष्य राखेको छ।



























































