काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अदालतका फैसला, आदेश, न्यायिक प्रक्रिया तथा कानुनी विषयवस्तुलाई यथार्थ, सन्तुलित र जिम्मेवार ढंगले प्रस्तुत गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।


ADVERTISEMENT


शुक्रबार सर्वोच्च अदालतमा आयोजित अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा उनले नागरिकको सुसूचित हुने अधिकारको प्रभावकारी कार्यान्वयन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यमबाट मात्रै सम्भव हुने बताएका छन्। न्यायपालिकाका गतिविधि तथ्यपरक र सन्तुलित रूपमा सार्वजनिक गर्न सके न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ हुने उनको भनाई छ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश शर्माले न्यायिक विषयको समाचार सम्प्रेषण गर्दा तथ्यपरकता, सन्तुलन, शुद्धता र व्यावसायिक उत्तरदायित्वलाई विशेष महत्व दिनुपर्ने उल्लेख गरेका छन्। अदालत र सञ्चारमाध्यमको कार्यक्षेत्र फरक भए पनि कानुनको शासन, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्द्धन दुवैको साझा उद्देश्य रहेको उनले बताएका छन्।

शर्माले न्यायपालिका र सञ्चारमाध्यमबीच एकअर्काको संवैधानिक भूमिका, स्वतन्त्रता र मर्यादाको सम्मान गर्दै सहकार्य र आपसी समझदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, न्यायिक विषय संवेदनशील हुने भएकाले यस्ता समाचार सम्प्रेषण गर्दा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।