काठमाडौं- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ले लामो संघर्ष र त्यागबाट प्राप्त नेपालको संविधानको भविष्यप्रति प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपाल को २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकमा संघीयता र राष्ट्रियसभाको औचित्यमाथि विभिन्न कोणबाट बहस भइरहेका बेला संविधानको भविष्यप्रति नै प्रश्न उठ्न थालेको उल्लेख गरे।
उनले लामो राजनीतिक संघर्ष र जनताको योगदानबाट बनेको संविधानमाथि कतैबाट आक्रमण गर्ने प्रयास भए त्यसको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
अध्यक्ष दाहालले मुलुकको राजनीतिक परिवर्तनमा योगदान पुर्याएका पुराना नेताहरूले संयमता, सहमति र सही मार्गदर्शनका साथ राष्ट्रिय मुद्दामा रचनात्मक बहस गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
दाहालले वर्तमान संविधान नेपाली जनताको लामो संघर्ष, बलिदान र आकांक्षाको दस्तावेज भएकाले यसको संरक्षण, कार्यान्वयन र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।



























































