काठमाडौं – गरिमा विकास बैंक लिमिटेड उत्कृष्ट वार्षिक प्रतिवेदन–२०२५ बीपी अवार्ड अन्तर्गत रजत पुरस्कारबाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले वार्षिक रूपमा प्रदान गर्ने उक्त पुरस्कार कम्पनीहरूले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा मूल्यांकन गरी प्रदान गरिन्छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका आधारमा विकास बैंक समूहअन्तर्गत गरिमा विकास बैंकले यो सम्मान प्राप्त गरेको हो।
असार १६ गते काठमाडौंमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष सीए नीलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए।
यसअघि पनि बैंकले ‘सर्वोत्कृष्ट व्यवस्थापन भएको विकास बैंक–२०२६’ तथा ‘वर्षको उत्कृष्ट विकास बैंक–२०२६’ जस्ता प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको जनाएको छ।
हाल गरिमा विकास बैंकले देशभर रहेका १२६ शाखा कार्यालय, ५१ वटा एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।



























































