काठमाडौं- जी पी कोइराला मेमोरियल सामुदायिक कलेजको १५औँ वार्षिकोत्सव तथा स्वर्गीय गिरिजा प्रसाद कोईरालाको १०३औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहलाई बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्रीले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका छन्।


ADVERTISEMENT


सम्बोधनका क्रममा मुख्यमन्त्री बानियाँले नेपालमा लोकतन्त्रको संस्थागत विकास, शान्ति प्रक्रिया र राष्ट्रिय एकताका लागि गिरिजाप्रसाद कोइरालाले पुर्‍याउनुभएको योगदान ऐतिहासिक रहेको बताएका छन्। उनले मुलुकको राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको विकासमा समेत गिरिजाप्रसाद कोइरालाको दूरदर्शी सोच प्रेरणाको स्रोत बनेको उल्लेख गरेका छन्।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी शिक्षामार्फत सक्षम, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सामुदायिक कलेजहरूले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गरेका छन्। जी पी कोइराला मेमोरियल कलेजले विगत १५ वर्षदेखि शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक संस्था बन्न सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा कलेजका पदाधिकारी, प्राध्यापक, विद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको छ भने समारोहमा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा कलेजको १५ वर्षे शैक्षिक यात्रा र उपलब्धिहरूको समेत समीक्षा गरिएको छ।