काठमाडौं-  ब्रिटिश काउन्सिलले नेपालसहित दक्षिण एसियाका देशहरूमा जोखिममा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि ५ लाख पाउन्ड स्टर्लिङसम्मको अनुदान उपलब्ध गराउने गरी ‘कल्चरल प्रोटेक्सन फन्ड (Cultural Protection Fund–CPF)’ अन्तर्गत नयाँ चरणको आवेदन खुला गरेको छ।


ADVERTISEMENT


द्वन्द्व तथा जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमअन्तर्गत नेपाल, बंगलादेश र पाकिस्तानसहित १७ देशका योग्य संस्थाहरूले आवेदन दिन सक्नेछन्। प्रत्येक परियोजनाले अधिकतम ५ लाख पाउन्ड स्टर्लिङसम्म अनुदान प्राप्त गर्न सक्नेछ।


ADVERTISEMENT

# # #


ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रस्टम मोदीले सांस्कृतिक सम्पदा समुदायको इतिहास, परम्परा र पहिचानसँग जोडिएको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण भावी पुस्ताका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस अनुदानमार्फत सांस्कृतिक सम्पदा संरक्षणमा संलग्न संस्था तथा समुदायको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा दीर्घकालीन संरक्षण प्रयासलाई थप सशक्त बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

नेपालमा यसअघि यही कोषअन्तर्गत जनकपुर महिला विकास केन्द्रले मैथिली महिलाको भित्तेचित्र तथा मूर्तिकला संरक्षणका लागि ५० हजार पाउन्ड स्टर्लिङ, आईकोमोस नेपालले डोल्पोको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षणका लागि ३६ हजार ९ सय ८ पाउन्ड स्टर्लिङ, आर्काइभ नेपालले कुसुण्डा भाषा तथा संस्कृतिको संरक्षणका लागि ४५ हजार ९ सय ६३ पाउन्ड स्टर्लिङ तथा राष्ट्रिय आदिवासी महिला महासंघ (NIWF)ले आदिवासी खाद्य सम्पदा संरक्षणका लागि ५० हजार पाउन्ड स्टर्लिङ अनुदान प्राप्त गरेका थिए।

ब्रिटिश काउन्सिलका अनुसार यस वर्षको आवेदनका लागि इक्सप्रेसन अफ इन्टरेस्ट (Expression of Interest) पेश गर्ने अन्तिम म्याद २० जुलाई २०२६ तोकिएको छ। आवेदन दिन इच्छुक संस्थाहरूलाई आधिकारिक आवेदन निर्देशिका र आवश्यक मापदण्ड अध्ययन गरी आवेदन पेश गर्न आग्रह गरिएको छ।

सन् २०१६ देखि सञ्चालनमा रहेको कल्चरल प्रोटेक्सन फन्ड बेलायत सरकारको डिपार्टमेन्ट फर कल्चर, मिडिया एन्ड स्पोर्ट (DCMS) सँगको साझेदारीमा सञ्चालन हुँदै आएको छ। हालसम्म यस कोषमार्फत २० देशका १६० भन्दा बढी सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग प्रदान गरिएको ब्रिटिश काउन्सिलले जनाएको छ।