काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य हुन नसक्ने बताएका छन्।


ADVERTISEMENT


सोमबार प्रतिनिधसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन नसकेको भन्दै संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि छेडखानी भए स्वीकार्य नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


 उनले सरकारले संविधान संशोधनको लागि बनाएका कार्यदल अपरिपक्व भएको टिप्पणी गरेका छन् । आङदेम्बेले सरकारको सय दिनमा सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सक्रिय देखिएको र केहि सकारात्मक काम भएको बताएका छन् ।

नेपालको संविधानले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएपनि प्रधानमन्त्रीले संसदलाई अवमूल्यन गरेको उनको भनाई छ । उनले प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठाने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा

कसरी कायम रहन्छ ? भन्दै प्रश्न समेत गरेका छन् । आङदेम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भएपनि देशको प्रधानमन्त्रीका रुपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो भएकाले भाइरल हुने बाटो त्यागेर प्रधानमन्त्रीका रुपमा मुलुकलाई सही ढङ्‍गले ड्राइभ गर्न सुझाव दिएका छन् ।

दुर्घटनामा पर्दा प्रधानमन्त्री मात्रै नभइ सिङ्गो देश दुर्घटनामा पर्नेतर्फ ख्याल गर्न समेत उनले सुझाव दिएका छन्।

त्यस्तै आङदेम्बेले सम्पत्ति छानबिन गर्दा चयनात्मक सिद्धान्त प्रयोग नगर्न र सम्पत्ति छानबिन अभियान विश्वासीलो ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले  वर्तमान प्रधानमन्त्रीबाटै सम्पती छानविन सुरु गर्न आग्रह गर्दै सरकारको अभियानमा आफुहरु साथ दिन तयार रहेको धारणा राखेका छन् । सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारको सूची र ती सूचीहरुको कार्यान्वयनको स्थिति हेर्दा हात्तीको देखाउने दाँत मात्र रहेछ भन्ने पुष्टि भएको उनको भनाइ छ ।