काठमाडौँ- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई दिगो रुपमा व्यवस्थापन गरिने स्पष्ट पारेकी छिन् ।
सोमबार राष्ट्रियसभा बैठकमा मन्त्री रावलले उपत्यकाका बिभिन्न स्थानबाट हटाइ हाल होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई उचित स्थानमा दिगो रुपमा व्यवस्थापन गरिने स्पष्ट पारेकी हुन् । त्यसअघि हालका लागि होल्डिङ सेन्टरमा रहेका नागरिकहरुलाई सहज रुपमा जीवनयापन गर्न सरकारले आवश्यक बजेट व्यवस्था गरिएको उनले बताएकी छिन् ।
मन्त्री प्रतिभा रावलले देशभरका भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरेकी छिन् । वैज्ञानिक भूमिसुधार र उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको समेत उनले बताएकी छिन् ।
मन्त्री रावलले हालसम्म करिब १२ लाख भूमिहीन र सुकुमवासीको जग्गा प्राप्तिका लागि निवेदन परेको र यसका लागि रु ६१ करोड ३० लाख बजेट विनियोजन गरिएको धारणा राखेकी छिन्।



























































