काठमाडौँ- सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ ।
सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा सात मिटर माथिको हिमाल नचढी सिधै सगरमाथा चढ्न नपाइने प्रावधान राख्न लागिएको जानकारी दिएका छन् ।
सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वभाविक रहेको बताएका छन् । हिमाललाई मात्र पर्यटनको मुख्य आधार बनाउनु भन्दा अन्य क्षेत्रमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।
उनले एउटै मात्र क्षेत्रमा प्रवद्र्धन गर्दा पर्यटन दिगो हुन नसक्ने भएकाले पर्यटनका विभिन्न आयामहरूमा प्रवेश गर्ने योजना ल्याइएको जानकारी दिएका छन् ।
त्यस्तै मन्त्री पौडेलले लक्ष्य अनुसार पर्यटक भित्राउन गारो भए पनि हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताएका छन् । पर्यटन प्रवद्र्धनका लागि सरकारी, निजी, गैर–सरकारी, दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।



























































