सुर्खेत—भेरीगंगा नगरपालिकाका १ का २५ वर्षीय बिशाल विक र २४ वर्षीय सुनिल बिक चार महिनादेखि भेरी ववई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काम गरिरहेका छन् । हेल्परका रुपमा कार्यरत उनीहरुको तलब मासिक ३० हजार रुपैयाँ छ भने ओभर टाइमबापत थप रकम आम्दानी भइरहेको उनले जनाएका छन् ।


ADVERTISEMENT


चिनियाँ इन्जिनियर र मजदुरसँग काम गरिरहेका उनीहरु कमाइसँगै सीपसमेत सिक्न पाएको बताउँछन् । रोजगारीका लागि मलेसिया गएर चार वर्षपछि फर्किएका बाँके, बैजनाथ गाउँपालिका ३ का ३० बर्षीय नमबहादुर मतवाल ६ महिनादेखि आयोजनामा मेसिन अप्रेटर छन् । उनको मासिक तलब ३५ हजार छ । ओभरटाइम गर्दा मासिक ५० हजारसम्म पुग्ने उनी बताउँछन् ।


ADVERTISEMENT

# # #


आयोजनामा अहिले ९० चिनियाँसहित ५ सय ६० जना नेपाली चौबीसै घन्टा काम गरिरहेका छन् । आयोजना निर्देशक शिवकुमार बस्नेतका दैनिक ६ सय ५० जना आयोजनामा खट्छन् । सुरुङ खन्ने काम चौविसैं घन्टा भइरहेको उनले बताए । ‘सिफ्टअनुसार चौविसै घन्टा सुरुङ निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘आयोजनामा स्थानीयलाई रोजगारी मात्र होइन, स्थानीय उत्पादनले पनि राम्रो बजार पाएको छ ।’ बाँके, बर्दिया, दाङ, कञ्चनपुर र सुर्खेतसम्मका बासिन्दाले आयोजनामा काम गरिरहेको बस्नेतले जानकारी दिए ।

स्थानीयको न्युनतम पारिश्रमिक २५ हजारदेखि ५५ हजार रुपैयाँसम्म छ । उनीहरूले अतिरिक्त कामको छुट्टै रकम पाउने गरेको बस्नेतले बताए ।

कर्मचारी गणेश श्रेष्ठका अनुसार परियोजनाले नजिकैका व्यापारिक स्थल र गाउँमा पशुजन्य सामग्रीको बिक्रि बढेको छ । ‘होटल व्यवसाय फस्टाएको छ भने घर भाडामा गएका छन्,’ उनले भने, ‘चिनियाले स्थानीय उत्पादन प्रयोग गर्ने गरेकाले पनि स्थानीयबासीले राम्रो फाइदा पाइरहेका छन् ।’

निर्देशक बस्नेतका अनुसार बुधबारसम्म करिब ४ दशमलब ८ किलोमिटर सुरुङ निर्माणको काम सकिएको छ । दैनिक २५ मिटरसम्म सुरुङ खनिँदै छ । अहिलेसम्म बिना अबरोध काम भइरहे पनि तोलिखोला आसपास केही समस्या निम्तिन सक्ने उनले बताए । ‘तोलीखोलासम्म ६ किलोमिटरको दुरी छ, त्यहाँ पुग्दा सुरुङको उचाई २ सय २० मिटरमा पुग्छ,’ बस्नेतले भने, ‘त्यहाँ माथि नदी भएकाले पानी आउने (सिपेज एरिया) छ त्यसकारण केही अबरोध हुनसक्ने सम्भावना छ ।’ करिब २ सय ५० मिटर सिपेज एरिया भए पनि त्यसभन्दा माथि खन्न सजिलो रहेको उनले जनाए ।

परियोजनाको काम २०१५ फेबु्रअरी १० बाट सुरु भएको हो । निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले पाएको छ । सुरुङ निर्माण २०२० मार्च १९ सम्म पूरा गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । डिभिजन इन्जिनियर रुपमाङ्गद खनालका अनुसार १७ अर्बको लगानीमा परियोजना निर्माण सुरु भएको हो । सुरुङको लम्बाइ १२ किलोमिटर र व्यास साढे ५ मिटर छ । तीन चरणमा निर्माण सम्पन्न गरिने आयोजनाको पहिलो चरणमा सुरुङको काम अघि बढाइएको हो । दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकाली राष्ट्रिय प्रसारण लाइनमा जोडिने खनालले बताए । उनका अनुसार तेस्रो चरणमा सिँचाइका लागि काम गरिनेछ । आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने योजना छ । त्यस्तै करीब १ सय २५ किलोमिटर क्षेत्रमा सिँचाइ, ग्रामीण सडक र विद्युतीकरणका कामसमेत गर्ने सम्झौतामा उल्लेख छ ।

भेरी नदीको पानी प्रतिसेकेण्ड ४० घनमिटरका दरले बबईमा खसालिनेछ । आयोजना निर्माणका लागि सिँचाइ विभाग र चाइना ओभरसिजबीच २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको थियो । आयोजनाले नेपालमै पहिलोपल्ट भित्रिएको टर्नेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गरिरहेको छ । बिटिएम मेसिन सुरुङ बनाई एकैपटक चिप्ले निस्कनेछ । अहिलेकै कतिमा काम भइरहे डेढ वर्षमै सुरुङ तया भइसक्ने कम्पनीको दाबी छ ।