राजविराज – सप्तरी प्रहरीले भन्सार छलि नेपाल भित्र्याइएको ६१८ थान सोनारी डाईसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपराह्न करिब ४:३० बजे राजविराज नगरपालिका–७ स्थित सम्मानित उच्च अदालत जनकपुरको राजविराज इजलास अगाडिको सडकमा सवारी चेकजाँच गर्ने क्रममा भारतबाट सिरहातर्फ जाँदै गरेको BR 39 AV 0871 नम्बरको कार रोकेको थियो।
प्रहरीले कारको बीचको सिट र पछाडिको डिक्कीमा खानतलासी गर्दा भन्सार छलि चोरी पैठारी गरी ल्याइएको ६१८ थान सोनारी डाई फेला पारेको जनाएको छ।
घटनामा भारतको बिहार राज्य, कटिहार जिल्ला, दुर्गापुर पश्चिम टोला–३२ निवासी ४९ वर्षीय नाहिद नियाज अख्तर र सोही स्थानका ५० वर्षीय मो. इकबाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै व्यक्ति, बरामद गरिएको ६१८ थान सोनारी डाई तथा प्रयोग गरिएको कारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि साउन १ गते राजविराज भन्सार कार्यालय, तिलाठी (सप्तरी) मा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।



























































