ललितपुर-  नेपाली कांग्रेस ललितपुरले ४४औँ वि.पी स्मृति सप्ताहको शुभारम्भ गरेको छ। सप्ताहको पहिलो दिन आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रमुख आतिथ्यता ग्रहण गरेका छन् भने बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विशेष आतिथ्यता ग्रहण गरेका छन्। सहमहामन्त्रीद्वय उदय शमशेर राणा र मुक्ता यादवको विशेष उपस्थिति रहेको छ।


ADVERTISEMENT


यस अवसरमा “नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति” विषयक साक्षात्कार कार्यक्रम सञ्चालन गरिएको छ भने नेपाली कांग्रेस जिल्ला कार्यालय, ललितपुरको प्राङ्गणमा निर्माण गरिएको सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण गरिएको छ। कार्यक्रममा वि .पी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विचारसँगै सन्त नेता कृष्णप्रसाद भट्टराईले स्थापित गरेको नैतिक राजनीति र लोकतान्त्रिक संस्कारलाई विशेष रूपमा स्मरण गरिएको छ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको सत्ता–केन्द्रित प्रवृत्तिले राजनीतिक दलहरूप्रतिको जनविश्वास कमजोर बनाइरहेको बताएका छन्। उनले सरकार परिवर्तन र सत्ता समीकरणको अस्वाभाविक अभ्यासले लोकतन्त्रको मूल मर्मलाई चुनौती दिइरहेको उल्लेख गरेका छन्।

उनले “जनताले सरकार बनाउन मात्रै होइन, लोकतान्त्रिक मूल्य र जनताको हितको रक्षा गर्न राजनीतिक दललाई मत दिएका हुन्” भन्दै अब राजनीति सत्ता केन्द्रित होइन, सिद्धान्त केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।

प्रदेश सरकारको विषयमा बोल्दै सभापति थापाले तीन दल मिलेर सरकार गठन गर्ने प्रस्ताव जनादेशअनुकूल नभएकाले नेपाली कांग्रेसले त्यसलाई अस्वीकार गरेको स्पष्ट पारेका छन्। सरकार जत्तिकै बलियो प्रतिपक्ष पनि लोकतन्त्रका लागि आवश्यक रहेको भन्दै उनले जनादेश र सिद्धान्तमा कांग्रेसले सम्झौता नगर्ने बताएका छन्।

कार्यक्रमको अर्को आकर्षण सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण बनेको छ। कार्यक्रममा सहभागी वक्ताहरूले भट्टराईको सादगी, त्याग, नैतिकता र लोकतान्त्रिक संस्कार आज पनि राजनीतिका लागि अनुकरणीय रहेको बताएका छन्।

 

त्यसैगरी, “नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति” साक्षात्कार कार्यक्रममा युवा तथा विद्यार्थीहरूले लोकतन्त्र, सुशासन, शिक्षा, रोजगारी, समकालीन राजनीति तथा नेपाली कांग्रेसको भावी कार्यदिशाबारे आफ्ना जिज्ञासा राखेका छन्। त्यसको जवाफ दिँदै सभापति थापाले युवाको अपेक्षाअनुसार नेपाली कांग्रेसलाई अझ वैचारिक, जनउत्तरदायी र समयसापेक्ष बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लोकतन्त्रको भविष्य युवाको सक्रिय सहभागिता र नेतृत्वसँग जोडिएको उल्लेख गर्दै राष्ट्र निर्माणमा नयाँ पुस्ताको भूमिका अझ प्रभावकारी बन्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, युवा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। ४४औँ वि.पी स्मृति सप्ताहले वि.पी कोइरालाको विचार, सन्त नेता कृष्णप्रसाद भट्टराईको आदर्श र नयाँ पुस्ताको लोकतान्त्रिक आकाङ्क्षालाई जोड्दै नेपाली कांग्रेसको वैचारिक यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।