काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थाबारे तयार गरिएको उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।


ADVERTISEMENT


समितिको बैठकमा उपसमितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमाथि सदस्यहरूले सुझावसहित छलफल गरेको हो । छलफलका क्रममा बाल सुधार गृहको भौतिक पूर्वाधार सुधार, आवश्यक जनशक्ति व्यवस्थापन, मनोसामाजिक परामर्श सेवा विस्तार तथा बालमैत्री वातावरण निर्माणमा सरकारको ध्यान जानुपर्नेमा सांसदहरूले जोड दिएका थिए।


ADVERTISEMENT

# # #


साथै बालबालिकाको अधिकार संरक्षणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सांसदहरुले धारणा रखेका थिए । बैठकमा समितिले बाल सुधार गृह तथा कारागारको अध्ययनका क्रममा तयार गरिएको उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्न, बालबालिकाको सुरक्षा, शिक्षा, स्वास्थ्य, सरसफाइ र पुनःस्थापनासहित न्यूनतम मानव अधिकार सुनिश्चित गर्न निर्देशन दिएको छ । समितिले बाल सुधार गृहमा देखिएका समस्या, बालबालिकाको मानव अधिकारको अवस्था तथा पुनःस्थापनासम्बन्धी व्यवस्थाको अध्ययनपछि सरकारलाई आवश्यक सुधारका कदम तत्काल अघि बढाउन निर्देशन दिएको छ ।

बैठकमा समिति सभापति समिक्षा बास्कोटाले क्षमता भन्दा बढी बालबालिका राख्ने अवस्था अन्त्य गर्दै आवश्यक पूर्वाधार, जनशक्ति र सेवा–सुविधा व्यवस्थापन गर्न सुझाव दिइन । प्राप्त सुझावहरूलाई समेट्दै प्रतिवेदनलाई थप परिमार्जन गर्ने तथा आवश्यक निर्देशन र सिफारिसमार्फत कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने तयारी गरेको समिति सभापति समिक्षा बास्कोटाले जानकारी दिइन् ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार, शिक्षा र पुनस्र्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सरकारले बाल सुधार गृहको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री वादीले तनहुँको ढकालटारमा निर्माणाधीन सुधार गृह अन्तिम चरणमा पुगेको र कर्णाली प्रदेशमा नयाँ सुधार गृह स्थापनाका लागि बजेट विनियोजन गरिएको बताइन् । हाल चारवटा सुधार गृहमा मात्र विद्यालय सञ्चालनमा रहेकोमा अन्यत्र पनि शिक्षाको पहुँच विस्तार गरिने र बालबालिकालाई व्यावसायिक तथा एआई सम्बन्धी सीपमूलक तालिम दिइने बताइन् ।

बाल अधिकार संरक्षणका लागि कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्दै सुधार गृहमा रहेका बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न सरकार सक्रिय हुनुपर्ने समितिको निष्कर्ष रहेको छ ।