काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्न उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई तीव्र रूपमा अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन्।
नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणालाई जनताको कल्याण र देशको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका हुन्।
उनले भौगोलिक रूपमा जटिल भए पनि प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपाललाई दिगो र वातावरणमैत्री पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गर्दै जलवायु परिवर्तन मुलुकसामु रहेको प्रमुख चुनौती भएको बताएका छन्।
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले विकास र मानवहितका विभिन्न आयामलाई सम्बोधन गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै लोकतन्त्रलाई केवल आदर्शका रूपमा नभई व्यवहार र आचरणमा उतार्न सके मात्र यसको उद्देश्य पूरा हुने धारणा राखेका छन्।
उहाँले कुनै पनि देशको भविष्य युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने बताउँदै युवा पुस्ताको नवीन सोचलाई इन्जिनियरहरूको प्राविधिक दक्षतासँग जोड्न सके आर्थिक समृद्धि र विकसित नेपालको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले दक्ष युवा रोजगारी र अवसरको खोजीमा विदेशिनु मुलुकका लागि चिन्ताको विषय भएको उल्लेख गर्दै इन्जिनियर र आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त रोजगारी, उचित मूल्याङ्कन र अनुकूल कार्य वातावरण सिर्जना गर्न सरकार तथा निजी क्षेत्रलाई आग्रह गरेका छन्।
उनले दिगो विकास, आधुनिक पूर्वाधार निर्माण र आर्थिक रूपान्तरणमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवाको सीप, प्रविधि र नवप्रवर्तनलाई राष्ट्रिय विकाससँग जोड्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।



























































