काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका धेरैजसो स्थानमा मध्यम वर्षा हुने देखिएकाले तत्काल ठूलो बाढी–पहिरोको जोखिम अपेक्षाकृत कम रहेको छ।
उनका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद् दाहालले पछिल्ला दिनको तुलनामा भोलि र पर्सि वर्षाको मात्रा केही कम हुने संकेत देखिएको बताए।
यद्यपि, मौसम पूर्वानुमान मनसुनको प्रभावका आधारमा गरिने भएकाले नागरिकलाई विभागले जारी गर्ने नियमित अद्यावधिक सूचना र सतर्कतामा ध्यान दिन आग्रह गरिएको छ।



























































