काठमाडौं- एआई (कृत्रिम बुद्धिमत्ता)मा आधारित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘वील’ (Veel) ले नेपाल र भारतमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। दक्षिण एसियामा विस्तारसँगै कम्पनीले दुवै देशका व्यवसाय र कन्टेन्ट क्रिएटरलाई एउटै प्लेटफर्ममार्फत जोड्ने लक्ष्य लिएको जनाएको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार ‘वील’ले ब्रान्डलाई कन्टेन्ट क्रिएटर खोज्ने, अभियान सञ्चालन गर्ने, कन्टेन्ट समीक्षा गर्ने, भुक्तानी व्यवस्थापन गर्ने तथा कन्टेन्टको प्रयोग अधिकार सुरक्षित गर्ने सम्पूर्ण प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सकिने सुविधा उपलब्ध गराउँछ। यसबाट नेपाल र भारतका व्यवसायले स्थानीय तथा अन्तर्राष्ट्रिय क्रिएटरसँग सहकार्य गर्न सक्नेछन् भने क्रिएटरले पनि स्वदेश तथा विदेशका ब्रान्डसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउनेछन्।


ADVERTISEMENT

# # #


नेपाल, भारत, प्रविधि, स्टार्टअप, व्यवसाय र कूटनीतिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रलाई सशक्त बनाउने उद्देश्यसहित नेपाल र भारतमा सेवा विस्तार गरिएको बताए।

उनले दक्षिण एसियामा लाखौँ प्रतिभाशाली कन्टेन्ट क्रिएटर र महत्वाकांक्षी व्यवसाय रहेको उल्लेख गर्दै उनीहरूलाई विश्वस्तरीय प्रविधिमार्फत जोडेर दिगो अवसर सिर्जना गर्ने कम्पनीको लक्ष्य रहेको बताए।

कार्यक्रममा नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोम तथा नेपालका लागि कोस्टारिकाका अवैतनिक महावाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक व्यवस्थापन साझेदार डा. मनीष थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यवाहक राजदूत अर्बोमले अमेरिकी उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता र प्रविधि नवप्रवर्तनको भावनालाई ‘वील’ले नेपाली प्रतिभासँग जोडेर नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापना गरिएको ‘वील’ भिडियो मार्केटिङ प्लेटफर्म हो। यसले एआई–आधारित प्रणालीमार्फत ब्रान्ड र कन्टेन्ट क्रिएटरलाई एउटै कार्यप्रवाहमा जोड्ने सुविधा प्रदान गर्छ। ब्रान्डले आफ्नो उत्पादन, लक्षित ग्राहक र कन्टेन्ट आवश्यकताअनुसार अभियान तयार गर्न सक्छन् भने क्रिएटरले आवेदन दिन वा एआई प्रणालीमार्फत सिफारिस हुन सक्छन्। कन्टेन्ट निर्माण, सम्पादन, समीक्षा, संशोधन, स्वीकृति, भुक्तानी तथा प्रयोग अधिकार व्यवस्थापनसमेत एउटै प्लेटफर्मबाट गर्न सकिने कम्पनीले जनाएको छ।

हाल ‘वील’सँग ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देशमा सञ्चालनको पहुँच रहेको कम्पनीले जनाएको छ।

नेपालमा क्रिएटर अर्थतन्त्रलाई सुदृढ बनाउन ‘वील’ले एनसीएचएल (NCHL), हम्रो पे, ईसेवा, खल्ती र फोनपेसँग साझेदारी गरेको छ। यसमार्फत व्यवसाय र क्रिएटरका लागि स्थानीय डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाइने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ‘वील’को सेवा अब कम्पनीको वेबसाइट तथा गुगल प्ले स्टोरमा उपलब्ध एपमार्फत प्रयोग गर्न सकिनेछ।