काठमाडौं- ब्रिटिस काउन्सिलले दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता र शिक्षक प्रशिक्षकलाई लक्षित गर्दै ‘South Asia TeachingEnglish Online Conference 2026’ आयोजना गर्ने भएको छ। जुलाई २३ देखि २५ सम्म सञ्चालन हुने तीनदिने यो सम्मेलनमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।


ADVERTISEMENT


सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका शिक्षा क्षेत्रका विज्ञहरूले अंग्रेजी भाषा शिक्षणमा सिर्जनशीलता, समावेशी शिक्षा, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगबारे अनुभव र अभ्यास साझा गर्नेछन्।


ADVERTISEMENT

# # #


शिक्षा प्रणालीले बदलिँदो विश्वअनुसार विद्यार्थीमा सिर्जनशीलता, आलोचनात्मक सोच, सहकार्य, सञ्चार क्षमता र अनुकूलनशीलता विकास गर्नुपर्ने आवश्यकता बढिरहेका बेला सम्मेलनले यिनै विषयमा केन्द्रित भएर छलफल गर्ने ब्रिटिस काउन्सिलले जनाएको छ।

कार्यक्रममा मुख्य वक्ताको प्रस्तुति, शिक्षकद्वारा सञ्चालित अन्तरक्रियात्मक छलफल तथा कक्षाकोठामा अपनाइएका सफल अभ्यासका उदाहरण प्रस्तुत गरिनेछन्। सहभागीहरूले बहुभाषिक कक्षाकोठालाई कसरी अझ समावेशी बनाउने, विद्यार्थीको सक्रिय सहभागिता कसरी बढाउने तथा एआईसहितका नयाँ प्रविधिलाई मानवकेन्द्रित शिक्षणसँग कसरी जोड्ने भन्ने विषयमा व्यावहारिक ज्ञान प्राप्त गर्नेछन्।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रस्टम मोदीले सिर्जनशील शिक्षणले विद्यार्थीमा सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले दक्षिण एसियाभरका उत्कृष्ट शिक्षक तथा प्रशिक्षकलाई एउटै मञ्चमा ल्याएर अनुसन्धानमा आधारित अभ्यास र कक्षाकोठामा प्रयोग गर्न सकिने रणनीति साझा गर्ने अवसर सिर्जना गरिएको उल्लेख गरे।

सम्मेलनमा नेपालबाट शोभा भट्टराई, आस्था कुमारी चौधरी र कृष्ण आर.सी. सहित दक्षिण एसियाका विभिन्न देशका अनुभवी शिक्षक, शिक्षक प्रशिक्षक र शिक्षा विज्ञहरूको सहभागिता रहनेछ।

ब्रिटिस काउन्सिलका अनुसार इच्छुक शिक्षक तथा शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिले सम्मेलनमा निःशुल्क दर्ता गरी सहभागिता जनाउन सक्नेछन्।