विराटनगर- उद्घाटन भएको करिब तीन वर्षपछि भारतबाट विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।


ADVERTISEMENT


भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेर आएको मालवाहक रेल मङ्गलबार विराटनगरस्थित नेपाल कस्टम यार्ड पुगेपछि नेपाल र भारतका अधिकारीहरूले संयुक्त रूपमा कार्गो रेल सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० जेठ १८ गते कार्गो रेल सेवाको उद्घाटन गरे पनि व्यावसायिक सञ्चालन हुन सकेको थिएन।

पहिलो चरणमा मोरङको नेमुवास्थित स्वस्तिक आयल इन्डस्ट्रिजका लागि कच्चा पदार्थ बोकेका ४० वटा कन्टेनर कार्गो रेलमार्फत विराटनगर आइपुगेका छन्। यससँगै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायी उत्साहित भएका छन्।

उद्योगीहरूका अनुसार कार्गो रेल सञ्चालन भएपछि ढुवानी लागत २५ देखि ३० प्रतिशतसम्म घट्ने, कोलकाता बन्दरगाहबाट विराटनगरसम्म सामान करिब २४ घण्टामै आइपुग्ने तथा सडकमार्गमा हुने सामान चोरीको समस्या पनि कम हुने अपेक्षा गरिएको छ। यसले पूर्वी नेपालका उद्योगलाई प्रतिस्पर्धी बनाउन समेत सहयोग पुग्ने विश्वास उनीहरूको छ।

भारत सरकारअन्तर्गतको कन्टेनर कर्पोरेशन अफ इन्डिया लिमिटेड (CONCOR) का प्रतिनिधि सञ्जीव साहले प्रारम्भमा कोलकाताबाट विराटनगरसम्म हप्तामा दुई दिन कार्गो रेल सञ्चालन गरिने र आवश्यकताअनुसार सेवा विस्तार गर्दै लगिने जानकारी दिए।

नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधनपछि विराटनगर आईसीपीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन सम्भव भएको हो।

उद्योगी व्यवसायीका अनुसार अब विराटनगर आएका कन्टेनर खाली फर्कनुपर्ने अवस्था हट्ने भएकाले नेपालबाट वस्तु निर्यात गर्न पनि सहज हुने तथा समग्र व्यापार र ढुवानी प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।