काठमाडौं- नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को खेलाडी अक्सन काठमाडौंमा सम्पन्न भएको छ। अक्सनसँगै प्रतियोगितामा सहभागी हुने ६ फ्रेन्चाइज टोलीले आफ्नो टोली निर्माण गरेका छन्।
आइतबार आयोजित अक्सन कार्यक्रममा राष्ट्रिय तथा प्रदेशस्तरका ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीका खेलाडीहरूका लागि सबै ६ टोलीबीच उत्साहजनक प्रतिस्पर्धा भएको थियो। खेलाडी छनोटसँगै पहिलो संस्करणको प्रतिस्पर्धाप्रति खेलाडी, टोली र समर्थकमाझ उत्साह बढेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भलिबल संघका अध्यक्ष जितबहादुर चन्दले पछिल्ला वर्षहरूमा नेपाली भलिबलले उल्लेखनीय प्रगति गरेको बताएका छन्। पुरुष र महिला राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेका सफलताले नेपाललाई दक्षिण एसियामा भारतपछि बलियो भलिबल राष्ट्रका रूपमा स्थापित गर्न मद्दत पुगेको उनले बताए।
उनले फ्रेन्चाइज लिग नेपाली भलिबलको दीर्घकालीन विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसले खेलाडीलाई आर्थिक सुरक्षा, नियमित प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक वातावरण उपलब्ध गराउने उल्लेख गरेका छन्।
अध्यक्ष चन्दका अनुसार भलिबललाई केवल प्रतिस्पर्धात्मक खेलका रूपमा नभई व्यावसायिक खेल उद्योगका रूपमा विकास गर्न निजी क्षेत्रको सहभागिता अपरिहार्य छ। फ्रेन्चाइज लिगले प्रायोजन, प्रसारण, दर्शक आकर्षण तथा खेलाडीको व्यावसायिक करिअर निर्माणमा नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ थियो।
नेपाल भलिबल लिगको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालको भलिबल इतिहासमा पहिलो पटक फ्रेन्चाइज मोडलमा आयोजना हुन लागेको प्रतियोगितालाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आयोजकका अनुसार यसले प्रतिभावान खेलाडीलाई नयाँ अवसर प्रदान गर्नुका साथै घरेलु भलिबलको स्तर उकास्न र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि बलियो आधार तयार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल भलिबल लिगको पहिलो संस्करण भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुनेछ। प्रतियोगितामा देशभरका उत्कृष्ट खेलाडीले फ्रेन्चाइज टोलीबाट प्रतिस्पर्धा गर्नेछन् भने यसलाई नेपाली भलिबलको नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ।



























































